Prakash Adhikari December 27, 2022

काठमाडौं, १२ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पौष २५ गते संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्नुभएको छ।

उहाँले पौष २५ गते दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी नवनिर्वाचित प्रतिनिधि सभा र पहिले गठन भैसकेको राष्ट्रिय सभाको बैठक बोलाउनुभएको हो ।

हिजो सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौष २५ गते संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपतिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नुभएको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गर्नुभएको छ।

४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो।

संसदको यही हिउँदे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने वाध्यात्मक व्यवस्था छ ।

संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।

Share Now

Leave a comment.