Prakash Adhikari December 27, 2022

 

कीर्तिपुर(काठमाडौं), १२ पौष । नेपाल टी २० लिगमा अन्तरगत आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ ।

पोखराको यो लगातार तेस्रो हार हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार पोखराले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक हुँदा साड्ले भान स्कल्कवेकले छक्का प्रहार गरेका थिए ।

आक्रामक रूपमा प्रस्तुत भएका स्कल्कवेकले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडेका थिए । खेलमा कुशल भुर्तेल ३९, उन्मुक्त चन्दले २२ र अनिल साह १९ रनको योगदान गरे ।

लुम्बिनी अल स्टार्सलाई रोक्न पोखराका कुशल मल्लले दुई र विपिन कार्कीले समान दुई विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले समान एक एक विकेट लिएका थिए ।

यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

पोखराबाट आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ६१ रन बनाएका थिए । उनले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । उपुल थरंगाले ४२ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

पोखरालाई रोक्न लुम्बिनीका साड्ले भान स्कल्कवेकले तीन विकेट लिए । गुल्सन झा र किशोर महत्तोले समान दुई विकेट । खेलमा हर्मित सिंह र सागर ढकालले एक एक विकेट लिएका थिए ।

लिगको तीन खेलमा नै जित निकालेको लुम्बिनी ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।
तीन खेल खेलेर पनि खाता खोल्न नसकेको पोखरा अंक तालिकाको पुछारमा अंकबिहिन अवस्थामा छ ।

 

Share Now

Leave a comment.