
काठमाडौं, १३ पौष। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले पाउनुभएको छ।
सहायकरथी भण्डारीले बुधबारबाट औपचारिक रुपमा सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो। उहाँलाई नेपाली सेनाले मंसिर २३ गते प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो।
२०४९ सालमा सहायक सेनानीका रुपमा नेपाली सेनामा भर्ना हुनुभएका भण्डारीसँग करिब तीन दशक लामो नेपाली सेनामा काम गरेको अनुभव छ।
उहाँले ताप्लेजुङस्थित इन्द्रदल गुल्म,सिंहदरबारस्थित नारायणगणदल गण,पूर्वी पृतना अन्तर्गत नम्बर २१ बाहिनी गणको कमाण्ड गरिसक्नुभएको छ।
भण्डारीले मनोवैज्ञानिक कार्य महाशाखा प्रमुख, प्रकृति संरक्षण शिक्षालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहायकरथी नारायण सिलवाललाई काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिइएको छ।