Prakash Adhikari December 31, 2022

रियाद(साउदी अरेबिया), १६ पौष । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आधिकारिक रुपमा साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्।

उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा अनुबन्धित भएका हुन्।

कतारमा आयोजित विश्वकपअघि म्यानचेस्टर युनाइटेड र रोनाल्डो उनीहरुबीचको सम्झौता रद्द गर्न तयार भएका थिए। त्यसपछि उनी फ्रि थिए।

बीबीसीका अनुसार रोनाल्डो फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिएका हुन्। उनले यो क्लबमा रहँदा वार्षिक १७ करोड ३० लाख पाउण्डभन्दा धेरै रकम पाउने बीबीसीले उल्लेख गरेको छ।

३७ वर्षीय रोनाल्डोले फरक मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

रोनाल्डोले भने, ‘मलाई के कुरामा खुसी लाग्छ भने मैले सबैजसो उपाधि जितेको छु। मैले यी सबै उपाधि जित्दा युरोपेली फुटबलको माध्यमबाट जितेको छु र यो अनुभव एसियामा बाँड्ने यो सबैभन्दा उत्तक समय हो भन्ने मलाई लागेको छ।’

नौ पटक साउदी प्रो लिग च्याम्पियन्स जितेको अल नासरले यो सम्झौताले नयाँ इतिहास बनाएको बताएको छ।

क्लबले यो सम्झौताले साउदी लिगका साथै मुलुक र नयाँ पुस्तालाई पनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

गत समरमा साउदी क्लब अल हिलालले उनलाई बार्षिक ३० करोड ५० लाख पाउण्डमा अनुबन्धन गर्ने प्रस्ताव गरेको थियो। तर, रोनाल्डोले आफू युनाइटेडमा खुसी रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

Share Now

Leave a comment.