Prakash Adhikari December 31, 2022

काठमाडौं, १६ पौष । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठरआठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज ेनेपाली कांग्रेसले देशभर मेलमिलाप दिवस मनाउदै छ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनुभएको थियो।

भारत निर्वासनमा रहेर लोकतन्त्रको लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर नबनोस् भनेर आफ्ना विमति स्वदेशमा नै जनतासमक्ष राखेर देशमा स्वच्छ राजनीतिक प्रतिस्पर्धाको वातावरण तयार पार्न सकिन्छ भन्ने विश्वासको साथ कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई ४६ वर्षअघि आजकै दिन स्वदेश फर्किनुभएको थियो। त्यति बेला सिक्किमको बिलयको घट्नाले बीपी लगायत कांग्रेसका वरिष्ठ नेताहरु देशको सार्वभौमसत्ता संरक्षणका लागि ज्यान बाजी थापेर स्वदेशमै फर्किनु भएको थियो।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो।

त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गर्नुभयो।

राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई २०३३ साल पौष १६ गते उहाँलगायत नेता नेपाल फर्किनुभएको हो।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई गिरफ्तार गरी फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो।

विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो।
त्यसपछि एकपटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगन्जमा उनलाई बन्दी बनाइएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो।

कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिनुहुन्छ।

विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि उहाँले लेख्नुभएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित छ।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन्।

यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ। प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ। (राससनेपाल खबरबाटं)

Share Now

Leave a comment.