काठमाडौँ, १५ पौष । नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १२औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकको तयारी सुरु भएको छ ।
बैठकका सम्भावित विषयवस्तु र ती पक्षको प्राविधिक अवस्थाबारे आपसी परामर्श गर्न नेपाल–भारत संयुक्त प्राविधिक समितिको बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जीवकुमार देवको नेतृत्वमा दिल्ली पुगेको नेपाली प्राविधिक टोलीले संयुक्त प्राविधिक समितिको बैठकमा दुवै देशका सरोकारका विद्युत् आयोजना, प्रसारण संरचना, तिनको क्षमतालगायतका विषयमा तथ्याङ्क तथा वस्तुस्थिति बुझ्ने काम गरेको छ ।
बैठकमा ४०० केभी लम्की–बरेली र दुहबी–पूर्णिया प्रसारण लाइन निर्माणलाई गति दिने विषयमा छलफल भएको थियो । साथै संयुक्त प्राविधिक समितिको बैठकमा विद्युत् आयोजना, प्रसारण लाइन संरचनालगायतका विषयवस्तुमा प्राविधिक तथा तथ्याङ्कीय जानकारी आदानप्रदान भएको छ ।
सचिवस्तरीय बैठकमा दुईदेशीय प्रसारण लाइन संरचना तथा पूर्वाधार विस्तार नै मुख्य हुने प्राविधिक समितिको निश्कर्ष रहेको छ ।
नेपालमा आगामी दिनमा विद्युत् उत्पादन बढ्दै जाने भएकाले निर्यात पूर्वाधार विस्तार गर्नुपर्ने देखिएकाले यी दुई प्रसारण लाइन निर्माणको मोडालिटी लागत साझेदारीलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।


















