Prakash Adhikari January 2, 2023

 

काठमाडौं, १८ पौष । नेकपा (एकीकृत समाजवादी) को पोलिट ब्यूरोको बैठक आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको छ । बैठकले वर्तमान सरकारमा सहभागी हुने सम्बन्धमा निर्णय गर्ने जनाइएको छ।

एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।

स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ।

स्थायी कमिटी बैठकमा नेताहरु प्रमेश हमाल, जयन्ती राई, डा. बेदुराम भुसाल, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथा खतिवडा, रामकुमारी झाक्री, रामचन्द्र झा, बलराम बास्कोटा, भाविसोर पराजुली, भानुभक्त जोशी, रत्नेश्वोर गोइत, रामजी शर्मा, रामप्रित पासवान, लक्ष्मण पौडेल, ललितकुमार बस्नेत, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, वंशीधर मिश्र, श्रीप्रसाद शाह, शत्रुधन महतो, सावित्रा भुसाल, हरि पराजुली, शिवबहादुर देउजा, भरतकुमार श्रेष्ठ र माधव पौडेलले धारणा राख्नुभएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको हुनाले समाजवादीलाई सरकारमा जाने निर्णय गर्न त्यति अप्ठ्यारो छैन ।

मंसिर ४ को निर्वाचनमा गठबन्धन दलहरुको सहयोगमा प्रत्यक्षतर्फ १० सीट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको समाजवादी सरकारमा नगएमा सांसदहरु एमाले पस्लान कि भन्ने चिन्ता पनि छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।

Share Now

Leave a comment.