Prakash Adhikari January 2, 2023

वासुदेव मिश्र

पोखरा(कास्की), १८ पौष । क्रान्तिको रापतापबाट गृहमन्त्री बन्नुभएका बीपी कोइराला पहिलोपटक जहाज लिएर पोखरा आउनुभये। त्यसको ७१ वर्षपछि क्रान्तिबाटै उठेका प्रचण्डले नयाँ एयरपोर्टको उद्घाटन गर्नुभयो।

२००८ सालको असोज महिना। नेपालीहरुलाई दशैंले छोपिसकेको थियो। फूलपातीको अघिल्लो दिन यहाँको घारीपाटन चौरमा एउटा जहाज ओर्लियो। धुले मैदानमा झरेको डेकोटा विमानका यात्रु थिए– तत्कालीन गृहमन्त्री बीपी कोइराला र उद्योग वाणिज्यमन्त्री गणेशमान सिंह। उनीहरुको भव्य स्वागत गरियो।

‘त्यो बेला अहिलेको एयरपोर्ट क्षेत्र (घारीपाटन) सबै चौर त थियो’, पोखरामा पहिलो जहाज ओर्लेको क्षण सम्झँदै नेपाली कांग्रेसका तत्कालीन नेता लीलाभक्त आचार्यले भन्नुभयो,‘ हामीले बीपी बाबु र गणेशमानजीलाई फूलमालाले स्वागत गर्यौं। त्यो बेला बीपीको स्वागतमा ठूलो भीड जम्मा भएको थियो। अझ भनौं न, त्यहाँ जहाज हेर्नेहरुको घुइँचो नै थियो।’

आचार्यका अनुसार त्यो बेला स्थानीयहरुले नै ‘जहाज ग्राउण्ड’ सम्याएका थिए। राणा शासनको अन्त्यसँगै बडाहाकिम धन शमशेरले पोखरा छाडिसकेका थिए। तरल राजनीतिक अवस्थामा ‘क्रान्तिकारी’ कांग्रेसीहरु हाबी थिए। बीपी आउने भनेपछि विमानस्थलको खटनपटन पनि उनीहरुले नै गरेका थिए।एयरपोर्ट भएको क्षेत्र खाली नै थियो। चौरलाई सामान्य सम्याएर विमान ल्याण्ड गराइएको उहाँले संझनु भयो।

‘हामीले नै सम्याएको हो। जहाजबाट झरेपछि बीपीले नागढुंगानेरको समीको बोटमा गएर भाषण गर्नुभयो’, लीलाभक्तले भन्नुभयो,‘उहाँहरु भोलिपल्ट काठमाडौं जानुभयो।’

जहाजबाट विश्वेश्वरप्रसाद कोइराला पोखरा आएको क्षणलाई कालान्तरमा गीतमार्फत् पनि सम्झन थालियो।

कवि तीर्थ श्रेष्ठले भन्नुभयो,‘यहाँ पछिसम्म पनि जहाजबाट आए विश्वेश्वर कोइराला भन्ने बोलको गीत गाइन्थ्यो। पोखराको लागि तत्कालीन क्रान्तिनायक बीपी र हवाइजहाज दुवै चासोका विषय थिए भन्ने त्यही गीतले पुष्टि गर्छ।’

शाही नेपाल वायुसेवा निगमको स्थापना भएकै थिएन। कांग्रेसकै नेता महाबिर समशेर जबराको लगानी रहेको हिमालयन एभिएसन नामक भारतीय कम्पनीले नेपाली आकाशमा डेकोटा विमान चलाउँथ्यो। बीपी चढेको जहाज पनि हिमालयन एभिएसनकै थियो। पृथ्वी र सिद्धार्थ राजमार्ग बनेकै थिएन। जहाजले नै पोखरालाई अन्य जिल्लासँग जोड्थ्यो।

डेकोटा

कतिसम्म भने पोखरामा पहिले जहाज आयो र जहाजले नै मोटर बोकेर ल्याएको थियो।

‘पोखरालाई काठमाडौं र भैरहवासँग जोड्ने काम डेकोटाले नै गरेको थियो’, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे भन्नुहुन्छ, ‘यहाँका व्यापारीहरु जहाज चढेर भैरहवा र काठमाडौं जान्थे र सामान ल्याउँथे। जहाजबाट आएको सामान व्यापारीको घरघरसम्म पु¥याउन गाडाको प्रयोग गरिन्थ्यो।’

पालिखेका अनुसार सुरुमा पोखरा विमानस्थलको धावनमार्ग पनि लामो थिएन। अहिलेको पर्यटन कार्यालय अगाडिसम्म भएको धावनमार्ग २०२८ । ०२९ सालतिरमात्र लम्ब्याइएको थियो। विमानस्थल भने २०१५ साल असार २० गते बनेको थियो। २०५४ सालमा पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत धावनमार्ग पुनः लम्ब्याइएको उहाँले बताउनुभयो।

पालिखेका अनुसार २०५४ सालतिर टावर र टर्मीनल भवन बन्यो। एकैदिन १८० उडानसम्म भयो भने ब्रिटिस एयरवेजको बीए ४६ जेट र कस्मिक एयरको फोकर १०० जहाज यही एयरपोर्टमा अवतरण गराइयो। ती दुवै सय सिट क्षमताका थिए।

पोखराको यो एयरपोर्ट आइतबारबाट ‘पुरानो र सानो’ विमानस्थलमा बदलिएको छ। पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार नै नयाँ एयरपोर्टको उद्घाटन गर्नुभएको छ। नयाँ विमानस्थलले पोखरा र समग्र गण्डकीको आर्थिक विकासमा ठूलो मद्धत पुर्याउने पोखरेलीहरुले आशा गरेका छन्।

नयाँ एयरपोर्टः एक लामो सपना
२०२९ सालमा राजा वीरेन्द्रले प्रा.डा. शंकरराज पाठकलाई गण्डकीको अञ्चलाधीश बनाउनुभयो। राजाको सिंदूरसहित पोखरा आएका शंकरराज विकास अर्थशास्त्रका ज्ञाता हुनुहुन्थ्या। राजाको मान्छे, केही गरौं भन्ने हुटहुटीबीच उहाँले पोखरामा न्यूरोड खोल्नुभयो। सरकारी कार्यालयहरु, आवासीय भवन, बसपार्कलगायतका संरचनाको लागि जग्गा अधिग्रहण गर्नुभयो। पोखरामा हिप्पी पर्यटकहरुको बाक्लै उपस्थिति थियो। उहाँको मनमा काठमाडौं आउने पर्यटकलाई सोझै पोखरा झार्न पाए राम्रो हुने विचार आयो।

मिनपचासको जाडो छल्ल हरेक वर्ष राजा पोखराको रत्नमन्दिर आउँनुहुन्थ्यो। शंकरले भ्रमणमा आएका राजालाई बिन्ती बिसाउनुभयो।

राजाले भन्नुभयो, ‘यहाँ इन्टरन्यासनल एयरपोर्ट, कस्तो कुरा पाठक ?’

राजाले उहाँको कुरामा ध्यान दिनुभएन। तर, करिब ७ दिनपछि राजाले पाठकलाई बोलाउनुभयो।

विमानस्थलबारे जिज्ञासा राख्दै राजाले सोध्नुभएछ, ‘ए तिमीले इन्टरन्यासनल एयरपोर्ट भनेको, बताऊ, बताऊ।’

पाठकले बेलिबिस्तार लगाउनुभयो। कुरा सुनेपछि राजाले यो कुरा तत्कालीन यातायात राज्यमन्त्री (प्रयागराजसिंह सुवाल) लाई गर्न आदेश दिनुभो। मन्त्रीले पाठकको कुरा सुनेर जग्गा अधिग्रहणको लागि एसियाली विकास बैंकसँग ऋण मागेर १ करोड पठाइ दिनुभयो। पाठक हौसिनुभयो। उहाँ बिहान ८ बजे उठ्नुहुन्थ्यो र मझेरीपाटन क्षेत्रमा पुगेर बजारमा चलेको भाउमै जग्गा बेच्न गाउँलेलाई आग्रह गर्नुहुन्थ्यो रे।

‘बारीबारी हिँडेर जग्गा नापेँ। तपाईंहरुले जग्गा दिनुहोस्, चलेको भाउ दिन्छु भनेँ,’ उनले सुनाए, ‘अधिग्रहण गरेपछि मूल्य कम दिने गरिन्छ नि, मैले त्यसो गरिनँ। उहाँहरुले खुरुखुरु दिनुभयो। मैले ३ महिनामा ३१०६ रोपनी अधिग्रहण गरिदिएको हो।’

आफूले जग्गादाताहरुलाई मुआब्जाको पैसाले अलि पर अर्को जग्गा किन्न सुझाएको बताउँदै उहाँले भन्नुभयो, ‘एयरपोर्ट बनेपछि फाइदा हुन्छ भनेर सम्झाएँ।’

२०३२ सालतिर जग्गा अधिग्रहण भयो तर एयरपोर्टको काम भने सुरु भएन। पाठकका अनुसार राजा वीरेन्द्र जसरी पनि एयरपोर्ट बनाउन चाहनुहुन्थ्यो।

प्यासेफिक एसिया ट्राभल एसोसियसन (पाटा)ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबारे सम्भाव्यता अध्ययन गरेको थियो। पाटाको अध्ययनले पछिल्लो समय हवाइमार्गबाट पोखरा आउने पर्यटक घट्दै गरेको तथ्य पेश गर्यो।

पृथ्वी र सिद्धार्थ राजमार्गको निर्माणले हवाइ यात्रु घटेका थिए भने हिप्पीहरुमाथि कडाइ गरिँदा नेपाल आउने पर्यटक पनि घटेका थिए। त्यस्तोमा ऋण सहयोगको आश गरिएको जापानी सहयोग नियोग (जाइका) बाट पनि ऋण प्राप्त भएन। २०३१ सालमा अधिग्रहण गरिएको जग्गा लामो समयसम्म धानखेतकै रुपमा रहन पुग्यो। २०३२ सालतिर शंकरराज पाठकको सरुवा भयो।

तिनै शंकरराज पाठकलाई एयरपोर्ट समुद्घाटनका दिन आइतबार ९१७ पुस २०७९० पोखरा महानगरले रथारोहणसहित सम्मान गर्यो। सम्मान ग्रहणपछि पाठकले पोखरेलीहरु गुनिला भएको प्रतिक्रिया दिनुभयो।

२०४२ सालतिर चाहिँ पोखरा उद्योग वाणिज्य संघले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्ने मागलाई जोडतोडले उठायो ।

‘संघको तत्कालीन बोर्ड बैठकले एयरपोर्ट निर्माणलाई एजेण्डामात्र बनाएन, एयरपोर्टको मागसहित प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्री गुहार्ने काम पनि गरियो’, नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्नुहुन्छ, ‘पोखरामा विमानस्थल आवश्यक छैन भन्ने मानसिकता बोकेकाहरुले यो एयरपोर्टबारे चासै नलिएको बेला संघले त्यो माग अगाडि सारेको थियो।’

एयरपोर्ट पोखरेलीको एजेण्डा बन्न थाल्यो। पोखरामा नै जन्मेका शरदसिंह भण्डारी पर्यटनमन्त्री हुनुभयो। माथिल्लो त्रिशुली निर्माणमा चीन सरकारले दिएको सहयोगबाट बचेको रकम पोखरा विमानस्थललाई दिने चिनियाँ प्रस्ताव आयो। ऋण सहयोगको लागि चिनियाँ एक्जिम बैंक तयार भयो।

विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लियो। २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ। जसका लागि नेपालले वार्षिक ३३ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने हुन्छ।

पहिलो प्रधानमन्त्रीत्वकालमा प्रचण्डले औपचारिक रुपले एयरपोर्ट बनाउन चीनसमक्ष प्रस्ताव राख्नुभयो। प्रक्रिया अगाडि बढ्यो। तर, पोखरामा एयरपोर्ट चाहिँदैन भन्नेहरु पुनःसल्बलाए। चिनियाँ ऋण महँगो भएको र इञ्जिनियरिङ, प्रोकुरमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडल अपारदर्शी भएको उनीहरुको आरोप थियो। खासमा यो मोडलअन्तर्गत सुरुमा परियोजनाको विस्तृत प्रतिवेदन तयार हुँदैन। काम गर्दै जाँदा स्वरुप बदलिन पनि सक्ने यो परियोजनाको विशेषता थियो।

त्यो तर्कले विमानस्थल निर्माण रोकिने अवस्था आयो। त्यसका विरुद्धमा पोखरामा ठूलो आन्दोलन चलाइयो। पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा हालको पोखरा एयरपोर्टको अगाडि रिले अनसन आयोजना गरियो। अनसनमा पोखराका मात्र नभएर बागलुङदेखि लमजुङसम्मका पश्चिमाञ्चलबासीले सहभागिता जनाए। पोखरेलीको ठूलो जुलुसले सिंहदरबार घेराउसमेत गर्यो।

तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालामा चीनको सहुलियत पूर्ण कर्जा स्वीकृत भयो र एअरपोर्ट बन्ने सुनिश्चित भयो ।

तत्कालीन सांसद स्वर्गीय रवीन्द्र अधिकारी (पछि पर्यटनमन्त्री) ले यो अभियानमा विशेष चासो दिएका थिए ।

प्रधानमन्त्री, मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर विमानस्थल निर्माण सरोकार समितिले काम अगाडि बढाउन आग्रह गर्यो।

२०६८ साल चैतदेखि सुरु भएको आन्दोलन २०७९ मंसिर २ गतेसम्म जारी रह्यो। त्यो बीचमा १५१ सिफ्टमा २ हजार ४०२ जनाले रिले अनसनमा सहभागिता जनाए।

फलस्वरुप २०७३ सालको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्यास गर्नुभयो। पूर्वपश्चिम रनवे रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि चीनको सिएएमसीलाई सन् २०२१ को जुलाइमा सक्नेगरी ३०५.१३१ मिलियन अमेरिकी डलरको ठेक्का दिइयो। कोभिडको कारण अघिल्लो वर्ष विमानस्थल पूरा भएन। गएको चैतमा भने निर्माण कम्पनीले करिब ९३ प्रतिशत काम पूरा भएकै अवस्थामा विमानस्थल हस्तान्तरण गर्यो।

पोखराको नयाँ एयरपोर्टबाट अब एयरबस ३२० न्यारोबडी र बोइङ ७५७–२०० जहाज उडान र अवतरण हुनसक्छ। यी जहाजहरुले २ सय हाराहारी यात्रु बोक्छन्। विमानस्थलमा तीनवटा ठूला र आठवटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ। यसको धावनमार्गको लम्बाइ २ हजार ५ सय मिटर र चौडाइ ४५ मिटर रहेको छ। धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ।

Image
पुरानो एयरपोर्टबाट हुँदै आएको आन्तरिक उडान नयाँ एयरपोर्टबाट संचालनमा ल्याइए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान भने उद्घाटनका दिन सम्भव भएन।

बुद्ध एयरले एक महिनाअघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि भारतबाट अहिलेसम्म अनुमति पाएको छैन्।
बुद्धले पोखराबाट वाराणसी र दिल्ली उडान भर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाएका थिए।

तर भारतले बनारस उड्न सोझो रुट नदिएका कारण उडान सम्भव नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख विक्रम गौतमले बताउनुभयो।

‘फेब्रुअरीबाट दैनिक १८ घण्टा संचालन गर्ने तयारी छ। यहाँ दुबइ, कतार, जजिरालगायतले उडानका लागि इच्छा देखाएका छन्। बुद्धले भारतबाट उडान भर्ने अनुमति मागेपनि अहिलेसम्म अन्योल नै छ’, गौतमले भन्नुभयो।

Share Now

Leave a comment.