Prakash Adhikari January 3, 2023

 

काठमाडौँ, १९ पौष। राहदानी विभागले पासपोर्ट भ्यालिडेशन गर्ने सिस्टममा खराबी आएको भन्दै मंगलबारदेखि राहदानी वितरण कार्य बन्द गरेको छ ।

सिस्टममा समस्या आएको र मर्मत संभार कार्य भैरहेको विभागले जनाएको छ ।

काठमाडौंको त्रिपुरेश्वस्थित विभागमा आवेदन गर्नेहरुको ठूलो भीड लागेको र विभागले प्रयोगमा ल्याएको सर्भरले निवेदन अपलोड गर्ने र स्टाटस हेर्नेको हिट नधानेको भन्दै विभागले केही दिन पहिलेदेखि आवेदन अपलोड गर्न ३ बजेपछिको समय छुट्टयाएको थियो । सो समस्या नसुल्झदै भ्यालिडेशन सफ्टवेयरमा समस्या आएपछि विभागले निरन्तर प्रयास गर्दा पनि समस्या समाधान नभएको भन्दै राहदानी वितरण कार्य रोकेको हो ।

विभागका प्रवक्ता दुरपदा सापकोटाले सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको जानकारी दिनुभएको छ ।

पौष १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी भ्यालिडेशन गर्न नपाइएकोले राहदानी वितरण कार्य अवरुद्ध हुन गएको छ ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । ’

नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।

कोरोनाभाइरस महामारी मत्थर भएपछि वैदेशिक रोजगारीमा माग बढेसंगै राहदानी लिनेको भिड बढेको हो ।

 

Share Now

Leave a comment.