Prakash Adhikari January 7, 2023

काठमाडौँ, २३ पौष। ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडले संयुक्त रूपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन्।

ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैङ्कले संयुक्त रूपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन्।

 

ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैङ्कको नामबाट संयुक्त कारोबार सुरु गर्दै छन्।

प्रभात फेरिमा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायत दुई बैङ्कका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो।

 

वित्तीय साक्षरतामूलक प्लाकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै सहरको मुख्य मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यकाबाहिर पनि मुख्य मुख्य सहर परिक्रमा गरेका थिए।

मर्जर पश्चात् बैङ्कको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु.३५.७७ अर्ब, कूल निक्षेप रु.४०० अर्ब, कूल कर्जा रु.३७९ अर्ब भन्दा बढी पुग्नेछ।
मर्जर पछि बन्ने नयाँ बैङ्क कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैङ्क बन्नेछ।

नयाँ बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसै गरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

२१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

दुई बैङ्कहरूको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैङ्क लिमिटेड मुलुकको सबैभन्दा ठूूलो बैङ्क हुनेछ।

 

Share Now

Leave a comment.