पोखरा(कास्की),२३ पौष । आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम अमेरिकी भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।
योसँगै आहा रारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहा रारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । २०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटाले लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
संकटाका निशान खड्काले बायाँ कर्नर नजिकबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टमा पुर्याई छाडे ।
मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए ।
खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए । लगत्तै संकटाले फेरि फ्रि किकको अवसर पाएको थियो । तर, स्टेफन बिनोङको बल पोस्ट बाहिर पुग्यो ।
खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको बललाई पुनः हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् । उनको गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्किएको थियो ।
निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो । यही कारण संकटाका मेसुके ओलामाउ र स्टेफन बिनोङ र भुटनिजका रेने स्यान्टिलनलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिए ।
थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटाका कप्तान सुनिल बलले गरेको गोल नै फाइनल खेलको निर्णायक गोल बन्यो ।
प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । सहाराले यसै वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेको हो ।
आहा रारा पोखराबाट नाम परिवर्तन गरेर ‘आहा रारा पोखरा गोल्ड’ बनेको २२ औं संस्करणमा प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो ।
बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।
संकटाकै सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फेयर प्लेमा धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् ।


















