Prakash Adhikari January 7, 2023

रिडी(गुल्मी), २३ पौष । स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे ८ वर्षमा पुल निर्माण भएको हो ।

तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्नेगरी नयाँ बाटो, रुबिना, मना जेबीले २०७१ साल असार १० गते ठेक्का सम्झौता गरेका थिए । निर्माण कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपियाँमा स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलले स्याङ्जाको कालिगण्डकी –१ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका –१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका –१ रिडी जोडेको छ ।

देशकै पहिलो र नयाँ पुल भएकाले डिजाइन गर्न, काम सम्पन्न गर्न समय लागेको निर्माण व्यवसायी महेन्द्र अधिकारीले बताउनुभयो ।

पुल निर्माण कार्य ढिलाइ हुँदा यहाँका नागरिक निराश बने पनि निर्माण सम्पन्न भएपछि अहिले हर्षित बनेको गाउँपालिका वडा १ का वडा अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । पुल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँदै लामिछानेले सोलार बत्तिका कारण दिनमाभन्दा रातमा पुलक्षेत्रको दृश्य मनोरम देखिएको उहाँले बताउनुभयो ।

तीनमुखे झोलुङे पुलमा आएकाहरुलाई यो स्थान सेल्फि प्वाइन्ट जस्तो भएको छ । झोलुङ्गे पुलको मुख्य पिलरबाट तीन जिल्लाको छुने पुलको मुख बराबर दूरीमा रहेको छ ।

पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न ५९.१३ मिटरको दूरी पार गर्नुपर्छ । मुख्य पिलर जमिनमुनी १६ मिटर वेल फाउण्डेन गरी थप १२ मिटरमा वाकवे निर्माण गरिएको छ ।

वाकवेबाट २५.२३ मिटरको उचाइको टावरमा लठठा कसिएको छ र एक मिटर १५० सेमीमा ढलान गरी रेलिङ राखिएको छ । रेलिङ हेर्न र हिँड्नको लागि नभई सोलार प्रयोजनका लागि बनाइएको छ ।

Share Now

Leave a comment.