रेसुङ्गा(गुल्मी), २४ पौष। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे परीक्षण र प्रदर्शन उडान गर्ने भएको हो ।
कुल ३३ करोड लागतमा बनेको विमानस्थल ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो ।
२०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो । परीक्षण र प्रदर्शन उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया अगाडी बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
परीक्षण र प्रदर्शन उडान तय भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ । आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।


















