Prakash Adhikari January 8, 2023

कीर्तिपुर(काठमाडौं), २४ पौष । आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी अल स्टार्र्सं फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य जनकपुर हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन मात्र जोड्न सक्यो ।

जनकपुरका लागि शमिउल्लाह सिनवारीले सर्वाधिक ४५ रन बनाए भने पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश पुलामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रन बनाए ।

जनकपुरलाई रोक्न बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले २।२ विकेट लिए भने स्याड्ली भानले एक विकेट ।

Image

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन, अनिल साहले २४, विपुल शर्माले २०, स्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाएका थिए ।

लुम्बिनीलाई रोक्ने क्रममा बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले २।२ तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले १।१ विकेट लिए।

पराजित जनकपुरले अव एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेल विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको विजेता र लुम्बिनी अल स्टार्सबीच हुनेछ ।

६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको नेपाल टी २० लिगमा फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स पहिलो चरणमा प्रतियोगिताबाट बाहिरिएका छन् ।

पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार, उदीयमान खेलाडीलाई १ लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ ।

Share Now

Leave a comment.