काठमाडौं, २४ पौष । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रतिनिधि मण्डल भारतको मुम्बईमा आयोजित गरगहना प्रदर्शनीमा सहभागी भएर फर्केको छ ।
संघका विशिष्ट सदस्य कृष्णलाल महर्जनको नेतृत्वमा महासचिव किसान सुनारसहितको ६ जना सदस्यीय प्रतिनिधिमण्डल भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सीलद्धारा आयोजित “१५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो मा सहभागी आइतबार स्वदेश फर्केको हो ।
२०७९ पुस २१ गते देखि संचालित उक्त शो २०७९ पुस २५ गते (पाँच दिन) सम्म चालू रहनेछ ।
व्यापार मेलामा सहभागी हुने क्रममा नेपाली प्रतिनिधिमण्डलले काउन्सीलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य विशिष्ट पदाधिकारीहरुसंग भेटवार्ता समेत गरेको थियो ।
भेटवार्तामा नेपाल र भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई थप गति दिन सहमति भएको छ ।

छलफलमा महासंघ र काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्ने, नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाईने वहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात् गर्ने र काउन्सिलले यस कार्यमा सहयोग गर्ने सहमति भएको महासंघका महासचिव किसान सुनारले बताउनु भएको छ ।
मुम्बाई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण गरेको थियो ।


















