कीर्तिपुर(काठमाडौं), २५ पौष । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो।
बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई विदाइ गरेको हो। सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो।
यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो। तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए। जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन्। कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए।
कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताउनुभयो। बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो’, उहाँले भन्नुभयो।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रा.डा डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताउनुभयो।
पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेल बताउनुभयो। उहाँले धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गर्नुभयो।
‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन। तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पुर्याएको छ, र अहिले ब्रान्डिङमा काम हुँदैछ।’ नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिल प्रति आभारी छु’, उहँले भन्नुभयो।
यस्तै इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउनुभयो।
‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्ता दिनदिनै विदेशिनु परिरहेको छ। गाउँमै कफी खेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ,’ कार्कीले भने। उनले भने, ‘मेरो यो सपनालाई पुरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ। अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमका साथ आइसकेको छ र मैले रोजगारी सृजना गरिरहेको छु।’
नबिल एसएसईले उद्यमी मात्रै नभएर उद्योगी बनाएरै छाड्ने कार्कीको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबिच फेरि सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा र प्रा.डा डिन डिल्लीराज शर्माले हस्ताक्षर गर्नुभएको छ।
कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ।’
कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्राडा बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो।


















