काठमाडौं,२५ पौष । गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको प्रतिनिधि सभा र संघीय संसद्को स्थायी सदन मानिएको राष्ट्रिय सभाको अधिवेशन आज सोमबारदेखि सुरू हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसद अधिवेशनको पहिलो बैठक आह्वान गर्नुभएको छ। सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राप्रपा नेता पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्नु हुनेछ ।
सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबरालेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । सोही बैठकमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको नामावली पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, सभामुख चयन नहुन्जेलसम्मका लागि ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा संचालनका लागि सांसदहरूको मनोनयन गर्ने कार्यक्रम समेत रहेको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभा दुवैको बैठक सोमबार एकै समयमा बस्ने भएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहने भएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ ।


















