Prakash Adhikari January 10, 2023

काठमाडौं, २६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको दुईतिहाइभन्दा धेरै सांंसदहरुले विश्वासको मत दिएका छन्।

मंगलबार सदनमा प्रस्तुत भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २ सय ६८ मत खसेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्न भन्ने अर्थात विश्वासको प्रस्तावको विपक्षमा जम्मा २ मत परेको छ।

आजको संसदमा जम्मा २ सय ७० सांसद उपस्थित थिए। संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपतिसमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गर्नुभयो।

प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो। त्यस्तै ३ स्वतन्त्र सांसदले पनि प्रचण्डलाई विश्वासको मत दिएका छन्।

विश्वासको मतको प्रस्तावमा मत विभाजनको प्रक्रिया अर्थात हुन्छ भन्ने र हुदैन भन्नेमा फरक फरक पुस्तिकामा हस्ताक्षर गरी मत संकलन गरिएको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा यस पटक प्रधानमन्त्री प्रचण्डले प्राप्त गर्नुभएको विश्वासको मत अहिलेसम्मकै धेरै हो।
प्रचण्डको सरकारलाई संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत साथ दिएपछि यो सरकारको हैसियत राष्ट्रिय सहमतिसहितको सरह मिलेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता रहनुभएका प्रचण्ड पौष १० गते नेकपा एमालेसहितका १ सय ६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो।

 

Share Now

Leave a comment.