बीरेन्द्रनगर(सुर्खेत),४ माघ । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ ।
बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा न्यौपानेले २४ मत पाएर निर्वाचित हुनुभएको हो ।
४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्यो भने एक मत तटस्थमा देखियो ।
न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एकरएक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बन्नुभएको हो।
यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
कर्णाली प्रदेशमा सत्ता गठबन्धनमा माओवादीले मुख्यमन्त्री, एमाले सभामुख र माओवादीले उपसभामुख लिने सहमति भएको थियो ।


















