काठमाडौं,७ माघ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान रक्षाको पक्षमा उभिने कि
विपक्षमा भन्ने कुराको परीक्षण राष्ट्रपतिको निर्वाचनमा हुने बताउनुभएको छ ।
शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताउनुभएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाउनुभएको र उहाँकै संयोजनमा सत्ता गठबन्धनले सभामुख र उपसभामुखको उम्मेद्वार तय गरी जिताएकोले संविधानमाथि खतरा यथावत रहेको उहाँको दाबी छ ।
नेपाली कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको राजनीतिक कदमको औचित्य सावित गर्दै उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसले उम्मेद्वारी दिए पनि सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभयो, नेपाली कांग्रेसकी उम्मेद्वार ईश्वरी न्यौपाने पराजित हुनुभयो । त्यस्तै शनिबार सम्पन्न उपसभामुख निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार मुक्ताकुमारी यादवलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित हुनुभयो ।
काँग्रेस प्रवक्ता डा. महतले भने सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तिर्ण हुन नसक्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ? सभामुख(उपसभामुखको परीक्षणमा उहाँहरु उत्तीर्ण हुनु भएको छैन । अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा महत्वपूर्ण परीक्षाको घडी छ ।’


















