क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), ९ माघ (बीबीसी) । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा १० जनाको ज्यान जाने गरी भएको गोली प्रहारमा संलग्न सन्दिग्ध व्यक्ति मृत भेटिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
हतियारधारी प्रहरीहरूले लस एन्जिलसनजिकै ती सन्दिग्ध व्यक्ति रहेको सेतो भ्यानलाई घटना भएको १२ घण्टासम्म घेरेर राखेका थिए।
विशेष तालिमप्राप्त अधिकारीहरूले भ्यानको झ्याल फुटाएर हेर्दा उनी आफैँले गोली हानेर मृत अवस्थामा भेटिएका थिए।
प्रहरीले ती व्यक्ति ७२ वर्षका एसियाली मूलका पुरुष रहेको र उनको साथबाट सेमी अटोमेटिक पेस्तोल बरामद भएको बताएको छ।
ती व्यक्तिले एक नाचघरमा स्थानीय समय अनुसार शनिवार राती गोली चलाएर भागेका थिए।
चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलामा त्यसअघि त्यहाँ हजारौँ मानिसहरू भेला भएका थिए।
प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको र तिमध्ये सात जनाको अझैसम्म अस्पतालमा उपचार भइरहेको जनाएको छ।


सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा लस एन्जलिसबाट १३ किलोमिटर पूर्वमा पर्ने उक्त सहरमा ठूलो सङ्ख्यामा प्रहरी उपस्थित भएको देखिन्छ।
एक प्रत्यक्षदर्शीले द लस एन्जलिस टाइम्सलाई बताएअनुसार बन्दुक बोकेका एक व्यक्तिलाई त्यस क्षेत्रमा देखेको भन्दै तीन जना उनको रेस्टुराँमा छिरेर ढोका बन्द गर्न भनेका थिए।
त्यहाँ वार्षिक रूपमा चन्द्र नववर्षको बेला एक सातासम्म कार्यक्रमहरू हुने गर्छन्।
यसअघिका वर्षमा एक लाखभन्दा धेरै मानिसहरू आउने गरेका थिए।
शनिवारको महोत्सव राति ९ बजे सकिने गरी तय भएको थियो।
मन्टरे पार्कको जनसङ्ख्या झन्डै ६० हजार छ। उक्त सहरमा धेरैजसो एशियाली समुदायका मानिसहरू बस्छन् ।


















