
काठमाडौं, १० पौष । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा ९ माघ (सोमबार) रातिदेखि नै हिमपात भएको हो।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। यसअघि हुम्लाको सिमकोटमा गत ६ माघमा पनि अत्यधिक हिउँ परेको थियो।
अन्य जिल्लामा गए रातिदेखि अहिले पनि पानी परिरहेको छ। अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्री सेल्सियस छ।
बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा किसानहरु छन्।
अन्य तीन प्रदेशमा बर्षा र हिमपातको संभावना
आज (मंगलबार) र भोलि (बुधबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/१०/०९ देखि २०७९/१०/११) जारी समयː साँझ ०६:०० बजे pic.twitter.com/X7FoQVJEIH
— Nepal Weather Forecast (@DHM_Weather) January 23, 2023
बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
यस्तै बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुलेटिनअनुसार बुधबार राति प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना र सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
तापक्रम
आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ।