Prakash Adhikari January 24, 2023

काठमाडौँ, १० माघ । नेपाल वायुसेवा निगमका ५ जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकैसाथ ५ जना क्याप्टेन निलम्बनमा परेको पहिलो पटक हो।

गत ३० पौषमा काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि त्यहाँको एटीसीको निर्देशन अवज्ञा गरेको हङकङ सिभिल एभिएसनले नेपाललाई जानकारी गराएअनुसार पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै काठमाडौँबाट जापान उड्ने क्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद (वाईपी) ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ।

जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र प्रसन्नशमशेर जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुनुहुन्छ भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेन हुनुहुन्छ।

शनिबारदेखि उडानमा जान नदिएर आरोपित क्याप्टेनहरुमाथि जाँचबुझ अघि बढाइएको छ।

Share Now

Leave a comment.