Prakash Adhikari January 24, 2023

 

चैनपुर(बाजुरा), १० माघ । बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टर स्केलको भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ।

मंगलबार दिउँसो २ः४३ बजेको समयमा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकोले एकिन विवरण आउन सकेको छैन।

भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन्। बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ।

चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ।

बाजुरा बडिमालिका नगरपालिकामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक आएको छ।

एक महिलाको मृत्यु, थुपै चौपाया मरे

गोरखापत्र ले दिएको समाचार अनुसार बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ ।

गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले, बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको बताउनुभयो ।

उहाँले योसँगै बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिनुभयो । बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन् ।

बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।

त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताउनुभयो ।

भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषी ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ ।

Share Now

Leave a comment.