Prakash Adhikari January 27, 2023

म्याग्दी, १२ माघ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको हो ।

बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकीसहित दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिर लगेर त्यहाँबाट अयोध्या लगिने बताइएको छ ।

शिला हस्तान्तरण समारोहमा गलेश्वरदेखि बेनी बजारसम्म शिलासहित शोभा यात्रा गरिएको थियो । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखेर हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बताउनु भएको छ । उहाँले काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहितको टोली नेपाल आएको थियो ।

कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
(अमृत बास्कुने/ ठाकुरप्रसाद आचार्य- गोरखापत्रबाट)

Share Now

Leave a comment.