Prakash Adhikari January 29, 2023

काठमाडौं, १५ माघ। रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको छ ।

अमेरिकाको नागरिकता त्यागेपछि पुन नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेसँगै उहाँ आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको हो ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उहाँले गुमाउनुभएको थियो ।

यसपछि आइतबार समर्थकसहित उहाँ पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको छ ।

उहाँले अमेरिकी नागरिकता त्यागेको प्रमाणसहित नेपाली नागरिकता पुनः प्राप्तिका लागि आवश्यक कागजात पेश गरेपछि प्रमाण पत्र पाउनु हुने छ ।

उहाँले अमेरिकी नागरिकता त्याग गरेको प्रमाण जिल्ला प्रशासन कार्यालयले आफ्नै संयन्त्रबाट बुझ्न चाहेको खण्डमा भने केही बिलम्ब हुन सक्छ ।

अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा रविका समर्थकको भीड लागेको छ ।

Share Now

Leave a comment.