Prakash Adhikari January 29, 2023

काठमाडौं, १५ माघ । नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा नगई कानूनी मान्यता शून्य भएको पुरानो नागरिकताका आधारमा नेपाली नागरिकले सरह मौलिक हक उपभोग गर्दै आउनुभएका रवि लामिछानेले सर्वोच्च अदालतको शुक्रबारको आदेशपछि नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ।

२०५० सालमा नेपाली नागरिकता लिनुभएका रवि अमेरिका गएपछि उतैको नागरिकता लिनुभयो ।अमेरिकी पासपार्टमा २०७५ नेपाल फर्किएर न्युज २४ मा काम गर्न थालेपछि उहाँको नागरिकता र श्रम स्वीकृतिका विषयमा प्रश्न उठेको थियो ।

उहाँले अमेरिकी पासपोर्ट नेपालस्थित अमेरिकी दूतावासमा सरेण्डर गर्नुभयो तर नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन लिएर जानुभएन ।

यही बीचमा उहाँले २०५० सालमा लिएर कानूनी मान्यता शून्य भएको नागरिकताको आडमा नेपाली राहदानी लिनुभयो । नेपालमा एक नागरिकले सरह सबै हक उपभोग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि त्यही कानूनी मान्यता शून्य भएको नागरिकता निर्वाचन आयोगमा पेश गर्नुभयो।

चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उहाँले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलसा भएको थियो। प्रतिस्पर्धी उम्मेद्वार नेपाली कांग्रेसका उमेश श्रेष्ठबाट यस विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि भयो ।

तर जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्णयको लागि आयोगको मुख्यालय काठमाडौं पठाएपछि आयोगले स्पष्टीकरण सोध्ने तोकादेशसहित उजुरी चितवना पठायो । निर्वाचन अधिकृतको कार्यालय चितवनले ७ दिनको स्पष्टीकरण सोधेर रविको जवाफ निर्वाचन आयोग आउदा मंसिर ४ को निर्वाचन समाप्त भएको थियो । उता निर्वाचनको मतगणनामा रवि जित्ने अवस्थामा रहेकोले आयोगले समयमा निर्णय दिएन । निर्वाचन अधिकृतको कार्यालयले रवि विजयी भएको प्रमाणपत्र दियो ।

चितवनवाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि बामपन्थी गठबन्धनसंग मिसिएर गृहमन्त्री नियुक्ति हुनुभयो ।

उहाँको नागरिकताको विषय निरुपण नगरिकन उहाँलाई वैध नेपाली नागरिक सरहका अधिकार उपयोग गर्न दिइएपछि उहाँका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

सोही रिटको सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार उहाँले प्रयोग गरेको नागरिकता बैध नभएकोले त्यसका आधारमा भएका सम्पूर्ण काम कारबाही अमान्य घोषित गर्दै उहाँ सांसद पद र मन्त्री पदमा रहन नमिल्ने फैसला सुनाएको थियो ।

अदालतको फैसला आएपछि रविले गृहमन्त्रीबाट राजिनामा दिनुभयो र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट पनि ।

सर्वोच्चको आदेशपछि उहाँले आइतवार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकता पुनः प्राप्तीका लागि निवेदन दिनुभएको थियो ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर नागरिकता पुनः प्राप्तीको प्रक्रिया अनुरुप आवेदन दिएकोले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उहाँलाई नागरिकता दिएको छ । उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको जानकारी दिनुभएको छ।

चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाउनुभएका रवि नयाँ नागरिकताका आधारमा पुनः सक्रिय हुन सक्नुहुनेछ।

तर दोहोरो राहदानी प्रयोग, अमेरिकी राहदानीमा नेपाल आएर बसेको अवैध र अधिक बसाई, श्रमस्वीकृति बेगर नेपालमा रोजगारी, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनको दुरुपयोग लगायत विषयमा भने उहाँमाथि छानबिन हुनुसक्ने सम्भावना पनि छ।

 

Share Now

Leave a comment.