Prakash Adhikari January 31, 2023

जनकपुरधाम(धनुषा), १७ माघ । प्रेम सम्बन्धमा परेर बच्चा जन्मेपछि अस्वीकार गरेकोले बलात्कार मुद्दा लगाएकी निहारिका राजपुत ऊर्फ सोनालीकुमारी सिंहले शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ।

सिंह र श्रेष्ठबीच जिल्ला अदालत धनुषामा सोमबार मिलापत्र भएको छ। अबदेखि उनीहरु श्रीमान् र श्रीमतीको रुपमा संगैे बस्न राजी भएका छन्।

निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि जिल्ला न्यायाधीश ब्रिजेश प्याकुरेलको इजलासले मिलापत्रको आदेश दिएको छ।

महोत्तरीको जलेश्वर ९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ ३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरिएको छ।

कानुनी हिसावले उमेर नपुगे पनि पत्नीकै रुपमा बस्दै आएको मिलापत्रमा निहारिकाले स्वीकार्नुभएको छ।

२०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएपछि श्रेष्ठले अस्वीकार गरेकोले सन्तान शिवराजकै हो भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गदैै विभिन्न तहका अदालतमा मुद्दा गर्नुभएको थियो।

उच्च अदालतको आदेश अनुसार डीएनए गरिएको थियो। शिवराजसँग डीएनए मिलेको थियो। डीएनए मिलेसँगै निहारिका र छोरालाई स्वीकार्न शिवराज तयार हुुनुपरेको थियो।

शिवराजले निहारीकालाई पत्नी भएका कारण यातना नदिएको र निहारीका अंश लिई अलग बसे पनि मान्ने अदालतमा बताउनुभएको थियो।

‘हामी वादी प्रतिवादीहरु यतिका दिनसम्म मुद्दा लडी बाझी आयौँ, अब उपरान्त मुद्दा नलडौँ, आपसमा मिलिजाऊँ भनी हामीबीच घरसारैमा मिली जाऔँ भनी मिलीआएको व्यहोरा यो छ कि म वादी तथा नाबालक छोरासमेतलाई इज्जत आमदअनुसार खान लाउन औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता र पतिको कर्तव्य निर्वाह गर्नेछु’, मिलापत्रमा उल्लेख छ।

मिलापत्रका लागि शिवराज र निहारिका संयुक्त निवेदन लिएर अदालत जानुभएको थियो।

यसअघि शिवराजविरुद्ध निहारिकाले बलात्कार कसुरमा जाहेरी दिनुभएको थियो तर जिल्ला अदालतले बलात्कारको कसुरमा शिवराजलाई सफाइ दिने फैसला गरेको थियो।

२०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ।

निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोपमा मुद्दा दिनुभएको थियो । निहारीकाले २०७७ भदौ ५ गते छोरा बिहानलाई जन्म दिनुभएको थियो ।

 

 

Share Now