काठमाडौँ, १८ माघ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित जस्तापाताको माग बढ्दै गएको छ ।
कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनिया लगायतका देशमा निर्यात हुन थालेको व्यवसायीले बताएका छन् ।
जगदम्बा स्टिल्स कम्पनीका बिक्री प्रबन्धक रामबहादुर बम्जनले जगदम्बा स्टिल्सको सुपरसाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताउनुभयो ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १२ करोड रुपियाँ बराबरको ८ हजार टन जस्तापाता निर्यात गरेको उहाँको दावी छ ।
“गत वर्ष परीक्षणका रूपमा एक सय टन निर्यात भएकामा चालू आवको ६ महिनामै ८ हजार टन जस्तापाता निर्यात गर्न सफल भयौँ,” उहाँले भन्नुभयो ।
छिमेकी पाकिस्तानका साथै एशिया प्रशान्तका कम्बोडिया, भियतनाममा पनि जस्तापाता पठाउने गरी थप तयारी भएको उहाँको भनाइ छ । जगदम्बाबाट उत्पादित मध्ये सबैभन्दा धेरै जस्तापाता भारत निर्यात हुने गर्छ ।
कम्पनीले जगदम्बा स्टिल्स जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एल्मुनियम–जिङ्क कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) जस्तापाता निर्यात भएको जनाएको छ ।
जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ ।
रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ ।
कम्पनीले भनेको छ,नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली)लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ ।
जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्दै दिगो उत्पादनलाई ध्यानमा राख्दै आएको छ ।यसले स्टील उत्पादनका लागि गुणस्तरीय मानक तयार गर्दछ।
आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।
‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टील्सका प्रवक्ताले भन्नुभएको छ, ‘हाम्रो कम्पनी उत्पादनहरुको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।
कच्चा पदार्थ आयात गरी हुलास स्टील, आरती स्टीलले पनि तीन महिनाअघिदेखि निर्यात सुरु गरेका छन् । जस्तापाताको आन्तरिक बजारमा समेत ठूलो खपत छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनामा ६३ अर्ब ६६ करोड ६३ लाख ५८ रुपियाँ बराबरको आइरन स्टीलको कच्चा पदार्थ आयात भएको छ ।


















