पोखरा(कास्की), १८ माघ। नेपाल क्रिकेट संघ (क्यान)को मंगलबारदेखि पोखरामा सुरु भएको बैठकमा अध्यक्ष चतुरबहादुर चन्दको राजिनामा माग गरिएको छ ।
संघका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्नुभएको हो।
बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई अध्यक्ष पदबाट राजिनामा दिनु पर्ने लिखित पत्र नै बुझाउनुभएको थियो ।राजिनामा माग्नेहरुले अध्यक्ष चन्दको सभापतित्वमा बोर्ड बैठक बस्न नसक्ने भन्दै बैठक नै बहिष्कार गर्नुभएको थियो ।
नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि क्यानका अध्यक्षको राजिनामा माग चुलिदै गएको छ ।
क्यानका केन्द्रीय सदस्य गौतमसहित दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले माघ १५ काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यसम्पादन समितिका रहेका सबैले राजीनामा दिनुपर्ने माग गरेका गर्नुभएको थियो ।
कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्का रहनुभएको छ ।


















