पोखरा(कास्की) १५ चैत्र । इण्डोनेशियाको राजधानी जाकर्तामा आगामी अगस्त १८ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा गर्न नेपालबाट २१ जना खेलाडी छनोट भएका छन्।
एशियाली खेलकुदमा नेपालले इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रसकन्ट्री गरी तीन इभेन्टमा प्रतिस्पर्धा गर्दैछ।
बुधबार गरिएको एकुरेसी प्रतिस्पर्धा र अघिल्लो प्रतिस्पर्धाको नम्बरलाई जोडेर पोखरामा खेलाडी छनौट गरिएको हो ।
एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए ।
टिम क्रसकन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालका ६ जना खेलाडी समेत रहेका छन् ।
एशियाडमा सहभागी हुन टिम क्रसकन्ट्री तर्फ बिशाल थापा, सुशील भट्टराई, शेरबहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराई छनौट भएका छन् ।
त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, नारन पराजुली, युबराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराई, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर, बिशाल थापा र भुवन आचार्य छन् । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । उनी १६ वर्षका छन् ।
छनौट भएका खेलाडीबाट टिम क्रसकन्ट्रीका लागि ५ जना र इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसीका लागि ५ जन गरि १० जना खेलाडी छनौट गर्ने नेपाली टिमका कोच सानुबाबु सुनारले बताए ।
उनले खेलाडीहरुलाई प्रतियोगिताभन्दा अगाडि चीनमा हुने प्रतिस्पर्धामा सहभागी बनाउने र बन्द प्रशिक्षणमा राख्ने योजना बनाएका छन् ।