Prakash Adhikari March 29, 2018

काठमाडौं, १५ चैत्र । भूकम्प पीडित, बाढी पीडित र सुकुम्बासीहरुका लागि एकीकृत नमूना  बस्ती निर्माण सम्पन्न गरेका हास्य कलाकार धुर्मुस अर्थात सिताराम कट्टेलले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने घोषणा गरेका छन् ।
बिहिबार उनले आफ्नो फेसबुक स्टाटसमार्फत यो घोषण गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशन अन्तरगत नै भए पनि यो रंगशाला निर्माणका लागि अलग्गै समिति बन्ने र नेपाल सरकारसंगको समन्वयमा निमाृण सम्पन्न गरिने उनले उल्लेख गरेका छन् । उनले एकीकृत बस्ती निर्माणको काम पनि नेपाल सरकारको समन्वयनमा सम्पन्न गरिएको बताएका छन् ।

उनले नेपालभित्रको ‘नमूना नेपाल’ निर्माण परियोजनाको सर्भेक्षणको काम सकेर मास्टर प्लान, डीपीआर र ईआईए को प्रकृयामा अघि बढिरहेको बेला बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि गरिदिनुपर्यो सुझाव आएकोले यो निर्णय गरिएको बताएका छन् ।

उनले लेखेका छन, ‘हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तरान्नति अनि खेलाडीहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’

उनले नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शीर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेकोले रंगशाला निर्माणको अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो भनेका छन् ।

उनले निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने संकल्प गर्दै यसले विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न र उनीहरुमार्फत ,विश्वभरी नेपालको नाम चम्काउने विश्वास व्यक्त गरेका छन् ।

कलाकार तथा सामाजिक अभियान्ता धुर्मुसले अनतराष्टिय स्तरको क्रिकेट रंगशाला निर्माण भएपछि नेपाल एउटा सुन्दर पर्यटकिय गन्तब्य हुने र त्यसबाट देशलाई आर्थिक लाभका साथै हाम्रा मौलिक र प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार पनि हुने बताएका छन् ।
उनले सबैलाई यो अभियानमा एकजुट भएर लाग्न आग्रह पनि गरेका छन् ।

Share Now

Leave a comment.