Prakash Adhikari February 6, 2023

 

काठमाडौं,२३ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि जारी गरेको धितोपत्रको आईपीओ बाँडफाँट भएको छ ।

२३ माघ सोमबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

 

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ ।

यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ताको १० प्रतिशतले हुने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

त्यसैगरी कम्पनीले १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरका लागि माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। आवेदकमध्ये छ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा १ लाख ७४ हजार ३ सय जनालाई १० । १० कित्ता शेयर परेको छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा मादी नदीबाट ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको अनुमानित प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

Share Now

Leave a comment.