Prakash Adhikari February 6, 2023

काठमाडौं, २३ माघ। भारतका मोन्टी देसाईलाई नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका देसाईँलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नुहुने छ।

देसाईाँसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

उहाँले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण दिनुभएको थियो ।

देसाई सन् २०१७ को एसीसी यू १९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार हुनुहुन्थ्यो ।

देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको छ ।

नेपालले आईसीसी लिग २ अन्तरगत स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पौषमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।

आवेदन दिएकामध्ये भारतीय प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो ।

क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो । राखेपले मन्त्रालय पठाए पनि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालेको हुनाले गत विहीबार प्रधानमन्त्री कार्यालय पुगेको प्रशिक्षक नियुक्ति फाइल शुक्रबार सदर भएर आइतबार राखेप आएको हो ।

उमेर समूह तथा सिनियर राष्ट्रिय टिममा विभिन्न सल्लाहकार भूमिकामा सन् २०१४ देखि नै नेपाल क्रिकेटसंग आबद्ध देशाईँसँग क्यानले लामो सहकार्यको अपेक्षा राखेको छ ।।

Share Now

Leave a comment.