काठमाडौं, २५ माघ । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले नेपालको सामाजिक विकासका लागि साढे ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गर्नुभएको छ।
आफ्नो भ्रमणको पहिलो दिन नै उहाँले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब नेपाली रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा गर्नुभएको हो।
उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।
यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, युवाहरूको सशक्तीकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनेर देखाउने अवसर नेपालसँग रहेको अमेरिकाले जनाएको छ।
युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि हासिल गर्न मद्दत गर्ने अमेरिकाले जनाएको छ।
आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही बनेर सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ।
अमेरिकाले स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम पनि यसमा राखेको छ।
कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने अमेरिकाले जनाएको छ।
यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेका उसको भनाइ छ ।


















