काठमाडौं, २४ माघ । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी हुनुभएको छ।
कार्कीले ३ हजार ५ सय ३७ मत ल्याउँदै प्रगतिशील समूहका डा. सन्तोष पौडेललाई पराजित गर्नुभएको थियो । अध्यक्षका प्रत्यासी डा. पौडेलले २ हजार २ सय २३ मत ल्याउनुभएको थियो भने अध्यक्षमा उठ्नुभएका स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २ सय ९० मत हासिल गर्नुभएको थियो ।
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।
यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २ हजार ९ सय १८ मतका ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसालले १ हजार ५ सय ४१ मत ल्याउनुभयो भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १ हजार ५ सय ५ मत ।
मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३ हजार ८१ मतका साथ विजयी हुुनुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १ हजार ५ सय ७४ मत ल्याउनुभयो भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले १ हजार १ सय २४ मत ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३ हजार ५ सय ५३ मत ल्याउदै विजयी बन्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २ हजार २ सय १४ मत ल्याउनुभयो ।
गण्डकी प्रदेशमा डा. राजन शर्माले ३ हजार ३ सय २२ मतका साथ विजयी बन्नुभयो भने उहाँका प्रतिस्पर्धी डा. विकास गौचन २ हजार ३ सय ९० मत ल्याउनुभएको थियो ।
यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३ हजार ३ सय ५९ मतका ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी डा. निरज अर्यालले २ हजार ३ सय ८ मत ल्याउनुभएको थियो ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा.युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
संघको निर्वाचनमा कुल ६ हजार २ सय ९२ मत खसेको थियो ।


















