Prakash Adhikari February 8, 2023

काठमाडौं, २५ माघ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले नेपालमा आएका कोरियाली लगानीकर्ता र तिनको संरक्षणका लागि सहयोग गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आज भएको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले त्यस्तो आग्रह गर्नुभएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारी र राजदूत सुकबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।

नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ।

भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गर्नुभएको थियो।

निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेपाली वस्तु निर्यातमा सघाउन आग्रह गर्नुभएको थियो।

उहाँले ऊर्जाका क्षेत्रमा कोरियन लगानीकर्ताको चासो रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गर्नुभएको थियो।

मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नेपाल सरकारले नीतिगत सुधारका कार्य गरिरहेको जानकारी गराउँदै राजदूत सुकलाई यसमा सकारात्मक योगदानका लागि आग्रह गर्नुभयो।

भेटका अवसरमा राजदूत सुकले इपीएस अन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताउनुभयो।

उहाँले मन्त्री भण्डारीलाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको अवगत गराउदै उनीहरुलाई भिसा प्रक्रिया सरलीकृत गर्न र उनीहरुको लगानीको संरक्षणको प्रत्याभूति दिन आग्रह गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.