अंकरा(टर्की), २ फागुन (बीबीसी) । गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ३६ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ।
टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ हालसम्म ३१ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ४ हजार ३ सय जनाको मृत्यु भएको छ।
र योसँगै मृत्यु हुनेको कुल सङ्ख्या ३५ हजार ९ सय ४३ पुगेको छ।
राष्ट्रसङ्घले विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या कम्तीमा दोबर हुनसक्ने चेतावनी दिएको छ।
राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग ‘‘सकिने क्रममा छ’’ र त्यहाँ अब उक्त विपद्मा बच्न सफलहरूलाई स्याहार सुसार गर्ने , प्रभावितलाई राहत दिने र पुनस्थापना गर्ने कुरामा ध्यान केन्द्रित गरिने छ।
राष्ट्रसङ्घका अनुसार अधिकारीहरूले आवास, खाद्यान्न अनि स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न थालेका छन्।
यद्यपि त्यहाँ अझै केहीको जीवितै उद्धार भइरहेको छ।
आइतवार भूकम्प गएको १ सय ३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो।
त्यस्तै १ सय ४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १सय ५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ।
चुनौती

टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढाउने छ।
यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पुर्याउन दिन आग्रह गरेको छ।
सिरियाको गृहयुद्धको क्रममा एक दशकभन्दा बढी समयदेखि मानिसहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने कुरामा पोख्त ह्वाइट हेल्मेट सङ्गठनका अनुसार त्यहाँका सर्वसाधारणहरूले निराश अनि आफूहरूलाई बेवास्ता गरिएको महसुस गरेका छन्।
टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा १ सय १३ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।
नेपालको सहयोग

यसैबीच भूकम्पबाट प्रभावित क्षेत्रमा नेपालले २२ टन भन्दा बढी अत्यावश्यक सामग्री पठाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सोमवार औषधि, चिकित्सकीय सामग्री, न्यानो कपडा र अन्य अत्यावश्यक सामग्री पठाएको हो।
टर्कीस एअरलाइन्सको उडान मार्फत् राहत सामग्री पठाइएको हो।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको एक आकस्मिक बैठकले टर्कीमा अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो।
सन् २०१५मा नेपालमा भूकम्प जाँदा टर्कीले नेपाललाई सहयोग गरेको थियो।
यो भूकम्प किन यति विनाशकारी ?
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो।
टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ।
टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो।
त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो।
लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे-वाकर भन्नुहुन्छ,”विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।”
तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन। यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए।
घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ।
पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा. कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउँनुहुन्छ।
“त्यसकारण अब जीवन बचाउने कुरा प्रतिकार्यमा निर्भर रहन्छ। बाँचिरहेका मानिसहरूको उद्धारका लागि २४ घण्टा निकै महत्त्वपूर्ण हुन्छ र ४८ घण्टा पछि जीवितै उद्धार गर्न सकिने सम्भावना निकै कम हुन्छ”, उहाँले भन्नुभयो।
यो यस्तो क्षेत्र हो जहाँ विगत २ सय वर्षयता ठूलो भूकम्प आएको थिएन।
त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो।


















