काठमाडौं, ३ फागुन । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा भएको संबैधानिक नियुक्तिको अन्तिम सुनवाई तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज गर्न लागेको हो ।
नेकपा एमाले नेतृत्वको ओली सरकार हटेपछि मुलुकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार र निर्वाचन पछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाा सरकार निमार्ण भईसकेको छ।
पटक–पटक सुनुवाइ प्रभावित भए पछि सर्वोच्च अदालतले गत ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषदको बैठक डाकेको, गणपुरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेको, प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरुको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।


















