धनगढी(कैलाली), ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अरुण चौधरी कैलाली कारागारबाट रिहा हुनुभएको छ ।
कैलाली कारागारबाट रिहा हुनुभएका सांसद चौधरीले ठूला दलहरुमा भर्खर उदाएका साना पार्टीहरुलाई खुम्च्याउने सोंच विकसित भएको र आफूमाथि त्यस्तै प्रतिशोध आएको बताउनुभएको छ ।
‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ, ’ चौधरीले भन्नुभयो, एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ । जसरी उठिरहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’
उहाँले कारागार बसाईंका क्रममा धेरै कुरा सिकेको भन्दै नेपालको कानुन परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘कारागारको बसाइ छ, जेलबन्दीको कुरा छ, त्यसले धेरै कुरा सिकाएको छ,’ सांसद चौधरीले भन्नुभयो, ‘कानुनमा अझै पनि धेरै कुरा परिमार्जन गर्नु पर्ने जस्तो देखिन्छ।’
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी अनुसार सांसद चौधरी आज रिहा हुनुभएको हो।
उहाँँसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जना कैदीको सजाय माफी गरिदिनुभएको थियो।


















