काठमाडौँ, ७ फागुन। प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उनीहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गर्नुभएको हो ।
भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग अहिले नेपाल भ्रमणमा हुनुहुन्छ ।
सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उहाँहरू सहभागी हुनुभयो ।
यसअघि उहाँहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा भारतीय अतिथिहरु सहभागी हुनुहुन्थ्यो ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।
नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ ।


















