काठमाडौं, ८ फागुन । भारत सरकारले नेपाल सरकारलाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन सहयोग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गर्नुभएको हो ।
करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेशिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले २०७२ मा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोगको नेपाल राष्ट्र र नेपाली जनताले स्मरण गरिरहने बताउनुभयो ।
मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदैआएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई मुलुकबीच सरकार–सरकार बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदैआएको छ ।” दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले सम्बन्ध घनिष्ट रहेको उहाँले चर्चा गर्नुभयो ।
भूकम्प र कोभिडको समयमा पनि भारत सरकारबाट भएको सहयोग महत्वपूर्ण र सराहनीय रहेको उहाँले बताउनुभयो । “यो सहयोगका लागि म भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।”
नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनेगरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।
राजदुत श्रीवास्तवले भन्नुभयो, ‘करिव एक वर्षअघि नेपाल सरकारको तर्फबाट दुई सय मिर्गौला डायलाइसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध आएको थियो । सोहीअनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।” नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो । भारत नेपालको छिमेकी मात्रै नभई विकास साझेदार राष्ट्र भएको उहाँले बताउनुभयो । नेपालको विकासका सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दैआएको उहाँको भनाइ छ ।
नेपालको ट्रमा सेन्टर निर्माण, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग पनि भारत सरकारले गरेको छ । भूकम्पका बेला १ सय ३२ वटा हेल्थपोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको उहाँले चर्चा गर्नुभयो । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ ।
भारत सरकारको तर्फबाट असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर हुने पनि उहाँले बताउनुभयो ।


















