Prakash Adhikari February 23, 2023

काठमाडौं, ११ फागुन । पौष १० पहिलेको सत्ता गठबन्धन र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको छ।

बैठक बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। बैठक राष्ट्रपतिको निर्वाचनको विषयमा राष्ट्रिय सहमति जुटाउने उद्देश्यले गर्न लागिएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।

राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने मिति १३ फागुन नजिकिँदै आएकोले उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका शीर्ष नेताहरू दौडधुपमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न इच्छुक हुनुहुन्छ र उहाँ सरकारमा सहभागी नभएको संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपति पद दिएमा देशमा राजनीतिक स्थिरता कायम हुनेमा विश्वस्त हुनुहुन्छ । तर सरकारमा रहेको सबैभन्दा ठूूलो पार्टी नेकपा एमालेले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेपछि पुरानो गठबन्धनका नेताहरू छलफलमा बसेका हुन्।

आजै मात्र सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीले डेढ घन्टा छलफल गर्नुभएको थियो ।

बैठकपछि बाहिरिनुभएका प्रधानमन्त्री दाहालले १३ गते सम्म समय रहेकोले अहिले कुनै निश्कर्षमा नपुगिएको बताउनुभयो भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिनुभएको थियो ।

Share Now

Leave a comment.