Prakash Adhikari February 24, 2023

काठमाडौं, १२ फागुन । राष्ट्रपतिको उम्मेदवारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीबीच आज निर्णायक वार्ता हुने भएको छ ।

प्रधानमन्त्री दाहाल राष्ट्रपति सवैदलको सहमति हुने पात्रको खोजीमा हुनुहुन्छ र उहाँ राजनीतिक स्थिरता र विकासको लागि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने अडानमा हुनुहुन्छ ।

यता नेकपा एमाले अध्यक्ष भने पौष १० मा नयाँ सत्ता समीकरण कायम गर्दा भएको समझदारी अनुरुप राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेद्वारलाई विजयी बनाउनुपर्ने मान्यता राख्नुहुन्छ । उहाँ एमालेले अघि सार्ने उम्मेदवारमा सबैले सहमति गर्नुपर्ने नभए माओवादीले पूर्वशर्त अनुसार मत हालेर जिताउनु पर्ने दावी गर्दै हुनुहुन्छ ।

यस नेकपा एमालेका अध्यक्ष राष्ट्रपतिमा सहमति खोज्ने विषयमा टाढिदै गएपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र समेतको अग्रसरतामा पौष १० पहिले कायम सत्तारुढ गठबन्धन ब्युताउने कसरत पनि भइरहेको छ।

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा सहमति नभए वर्तमान सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचन सकिने दिनसम्म टुट्ने संभावना देखिएको छ ।

राष्ट्रपति पद कांग्रेसलाई, उपराष्ट्रपति पद जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू लागेका छन्।

 

 

Share Now

Leave a comment.