Prakash Adhikari February 24, 2023

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ।

बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने निर्णय गरेको छ।

नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ।

बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताउनुभएको छ ।
छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए।

बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएनन् ।

नयाँ यात्रा सुरु

आठ राजनीतिक दलहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनुभएको थियो ।

बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित आठ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनुभएको थियो।

‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष ज्वालाले बैठकपछि भन्नुभयो, ‘अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ।’

प्रधानमन्त्रीको यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ।

Share Now

Leave a comment.