काठमाडौं, १४ फागुन । राष्ट्रपतिको निर्वाचनमा सत्तारुढ सहयोगी पार्टीका उम्मेदवारलाई छोडेर सत्ताबाहिरका दलहरुको साझा उम्मेदवारलाई समर्थन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासाझेदार एमालेलाई सरकारबाट बाहिर घचेट्ने प्रक्रिया सुरु गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिनुभएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको थियो। तर अपरान्ह जेनेभातर्फ जान लाग्नुभएकी पौड्याललाई प्रधानमन्त्रीको आदेशमा मुख्य सचिवले रोकिदिनुभयो।
“क्याबिनेटले मेरो भ्रमण पास गरिसकेको थियो। आज मात्रै मैले डलर पनि साटिसकेकी थिएँ। यहाँबाट जेनेभा पुगेर मानवअधिकार परिषदको बैठकलाई सम्बोधन गर्ने त्यहीँबाट दोहामा आउने कार्यक्रम थियो”, भ्रमण रोकिएपछि परराष्ट्रमन्त्री पौडेलले भन्नुभयो, “त्यसरी कार्यक्रम बनेको थियो। प्रधानमन्त्रीले मलाई भ्रमण स्वीकृति पनि दिनु भएको थियो। म र मन्त्रालयका अधिकारीहरु पनि जाँदैथियौँ। तर अन्तिममा रोकियो।”
मुख्यसचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन सुनाउँदै उहाँलाई जेनेभा नजान भन्नुभएको थियो। त्यसपछि आफूलाई अपमानपूर्वक रोकिएको भन्दै उहाँले जेनेभा नजाने निर्णय लिएको बताउनुभएको छ ।
गत १० पौषमा नेकपा एमालेको गठबन्धनमा पसेर प्रधानमन्त्रीको दावी पेश गर्नुभएका प्रधानमन्त्री दाहालले त्यतिबेलाको सात दलीय गठबन्धन छाड्दै कांग्रेससहितको आठ दलीय गठबन्धन बनाइसक्नुभएको छ।
शनिबार मात्रै प्रचण्डले एमालेले अब सरकार छाड्न सक्ने बताउनुभएको थियो। शुक्रबार बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा पनि उहाँले एमाले सरकारबाट छिट्टै बाहिरिने बताउँदै कांग्रेससहितलाई सत्तामा आउन आग्रह गर्नुभएको थियो।
तर एमालेले शनिबार आगामी फागुन २५ सम्म सरकारबाट नबाहिरिने निर्णय गरिसकेको छ। एमालेसँगको खटपटबीच परराष्ट्रमन्त्रीको भ्रमण रोकिएकोले एमाले त्यस पहिले नै सरकारबाट बाहिरिने संभावना बढेको छ ।
जेनेभामा हुने बैठकमा मन्त्री पौड्यालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम थियो।
नेपाल उक्त परिषदको सदस्य राष्ट्र हो। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफ्ना प्रगतिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने नेपालको कार्यक्रम छ । मन्त्रीको अनुपस्थितिमा अब परराष्ट्र मन्त्रालयका अधिकारीहरुले सो कार्य सम्पन्न गर्नेछन् ।
मन्त्री पौड्याल त्यही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियो । दोहा बैठकमा प्रधानमन्त्री दाहाल स्वयं जाने तयारी रहेको छ ।


















