Prakash Adhikari February 27, 2023

दुबइ(युएई), १५ फागुन । नेपाली राष्ट्रिय टिम आज आइसीसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज पपुपा न्युगिनीसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार मध्याहन्न ११ः ४५ मा युएईको दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपालको यो लिग २ को अन्तिम विदेश भ्रमण हो । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । यसपछि लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज नेपालमा यी तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल लिग २ मा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सहजै जोगाउन कम्तिमा ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने हुन्छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । युएई शीर्ष तीनमा पर्न कम्तिमा ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता सोझै जोगाउन युएईले चार खेल जित्नुपर्ने हुन्छ ।

घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडीआई सिरिजमा सबै खेल जितेको नेपाल युएईमा पनि शतप्रतिशत नजिता निकाल्ने दाउमा छ ।

यो सिरिजले नेपाल, युएई र नामिबिया मध्य शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने टोलीको निर्धारण गर्नेछ ।
स्कटल्यान्ड ५० अंक र ओमान ४४ अंकका साथ सोझै विश्वकप छनोटमा पुगेका छन् । नामिबियाले ३९ अंक जोड्दै तेस्रो स्थानमा अन्त्य गरेको छ । यो सिरिज पपुवा न्युगिनीको लागि प्रतिष्ठाको लडाई र राम्रो तयारी हो । यता नेपाल र युएईको भने आगमी चार वर्षको भविष्य निर्धारण गर्नेछ ।

नेपालले गत वर्ष लिग २ मा युएईमा नै पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो । तर गतवर्ष नै पपुवा न्युगिनीले टियु मैदानमा नेपालसँगको दुवै ओडीआई खेल जितेको थियो । लिग २ मा पपुवा न्युगिनीले अमेरिका र युएईलाई स्तब्ध पारेको थियो ।

नेपालले मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल ९श्याम०, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

 

Share Now

Leave a comment.