काठमाडौं, १५ फागुन । नेकपा एमालेका आठै जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आआफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजना मन्त्रीहरुले राजीनामा पत्र बुझाउनुभएको हो।
सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयसहित समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो।
पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेको थियो।
आइतबार जेनेभा प्रस्थान गर्न लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो।
उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताउनुभएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा गत पौष११ गते प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो। तर प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कांग्रेससँग गठबन्धन बनाएसँगै एमाले चिढिएको थियो।
गत शुक्रबार बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेले सरकार छाड्ने संकेत गरेकाले कांग्रेससहितका दलहरुलाई सत्तामा आउन आग्रह गर्नुभएको थियो।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेले एक उपप्रधानमन्त्रीसहित आठ मन्त्री पाएको थियो। एमाले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । पौडेल उपप्रधान तथा अर्थ मन्त्री हुनुहुन्थ्यो ।
यसै गरी एमालेबाट कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी‚ परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल‚ स्वास्थ्यमन्त्रीमा पदम गिरी‚ भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेतीले विभागीय मन्त्रालय सम्हाल्नुभएको थियो ।


















