काठमाडौं, १ ६ फागुन । एक महिनाको अन्तरालमा तीन वटा सहयात्री दलहरू सरकार छोडेर बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ।
देशको शान्ति र सुव्यवस्थासंग सम्बन्धित गृह, बजेट र राजश्व परिचालनसम्बन्धित अर्थ, वैदेशिक सम्बन्ध सुमधुर राख्ने कामको नेतृत्व गर्ने परराष्ट्र र देशको सुरक्षाका हेर्ने रक्षा लगायतका महत्वपूर्ण मन्त्रालयहरु अहिले नेतृत्वबिहिन भएका छन् ।
यी महत्वपूर्ण मन्त्रालयहरूमा हुने भागबन्डा र सरकारमा सहभागी हुने नयाँ दलहरूबारे मङ्गलवारबाटै छलफल सुरु हुने नेताहरूले बताउनुभएको छ।
प्रचण्ड प्रधानमन्त्री बनेको दुई महिनामै सोमवार प्रमुख सत्ता साझेदार दल नेकपा एमाले पनि सरकारबाट बाहिरिएपछि अब सरकारमा माओवादी बाहेक सीके राउत नेतृत्वको जनमत पार्टी मात्रै बाँकी छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धनमा आबद्ध दलहरूलाई छिट्टै सरकारमा सहभागी गराइने बताउनुभएको छ।
“सरकार छोडेर जाने गइसके अब आउनेहरू सम्भवतः एकै चोटि सहभागी हुन्छन्। सकेसम्म आठ वटै दल सहभागी हुन्छन्,” माओवादी नेता गजुरेलले भन्नुभयो, “मन्त्रालयको बाँडफाँटबारे अब छलफल हुन्छ। पार्टीहरूको सिट सङ्ख्याका आधारमा त्यो निर्धारण हुन्छ।”
यसअघिको भागबन्डामा नेकपा एमालेले सबैभन्दा धेरै आठ वटा मन्त्रालय लिएको थियो भने माओवादीले प्रधानमन्त्री बाहेक चार मन्त्री र एक राज्यमन्त्री पाएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन(तीन मन्त्री एक(एक राज्यमन्त्री पाएका थिए।
कांग्रेस कहिले जान्छ सरकारमा?

नयाँ समीकरण बनेसँगै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस कहिले र कसको नेतृत्वमा सरकार जान्छ भन्नेबारे चासो बढेको छ।
आगामी फागुन २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचन अघि नै कांग्रेसलाई सरकारमा सहभागी गराउन पहल भइरहेको माओवादीका एक नेताले बताउनुभयो।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सरकारमा सहभागी हुन तयार नै रहेको बताउनुभएको छ।
तर त्यसका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने उहाँको भनाई छ, “अब गठबन्धन र पार्टीको पनि बैठक होला। प्रधानमन्त्रीले पनि पहल गर्नुहोला। राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने दलहरूबीच छलफल होला।”
प्रचण्डले राष्ट्रपति निर्वाचन अघि नै संसद्मा विश्वासको मत लिने र त्यस लगत्तै कांग्रेस लगायतका दलहरूलाई सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको भनाइ छ।
रास्वपा पनि सरकारमा जान्छ?
उहाँका अनुसार पहिलो पटक सहभागी भएको सरकारबाट एक महिनामै अलग भएको रास्वपालाई फेरि सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।
“उहाँहरूको छलफल भइरहेको छ। परिवर्तनकै पक्षधर भएको हुनाले र समृद्धि र सुशासन उहाँहरूको चाहना माओवादीसँग मिल्ने भएकाले उहाँहरू पनि सहकार्यमा आउने जस्तो लाग्छ,” उहाँले भन्नुभयो।
यो दलले अहिलेसम्म पनि प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छैन।
सरकारमा सहभागी हुन आग्रह आए स्वीकार गर्ने वा नगर्नेबारे पार्टीमा छलफल हुन बाँकी नै रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो।
यसअघि प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्टि जनाएर बाहिरिए पनि समस्यामा केन्द्रित भएर सहकार्यको प्रस्ताव आए पार्टीमा छलफल हुनसक्ने उहाँले बताउनुभयो।
“हामी सरकारमा जाने प्रस्तावलाई निषेध गर्दैनौँ। मुख्य कुरा आजको समस्या समाधान र जनताको काम गर्ने सवाल हो, त्यसमा जुनसुकै शक्तिसँग सहकार्य गर्न सकिने भयो,” परियारले भन्नुभयो।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी करिब एक महिनाअघि मात्रै सरकारबाट बाहिरिएको थियो।
राप्रपा सरकारमा फर्कने ‘ढोका बन्द’

एमाले सहितको गठबन्धनबाट अलग भएर माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्तामा कांग्रेसका पक्षमा उभिने निर्णय लिएपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा शनिवार सरकारबाट बाहिरिएको थियो।
संसद्को पाँचौँ ठूलो दल राप्रपाले नेपालमा राजतन्त्र पुनर्स्थापनाको पक्षमा पैरवी गर्दै आएको छ। राप्रपा सरकारबाट बाहिरिएकै दिन प्रचण्डले पुरानो गठबन्धनका कारण पूर्व राजा “हौसिएको” साङ्केतिक टिप्पणी गर्नुभएको थियो।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले राप्रपालाई सरकारमा फर्काउने पक्षमा आफूहरू नरहेको प्रस्ट पार्दै भन्नुभयो, “राप्रपालाई हामीले धकेलेको त होइन। आफैँ गयो अब आउट भइसक्यो।”
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि अहिलेको अवस्थामा राप्रपा सरकारमा नजाने बताउनुभयो।
“राप्रपा कहिल्यै पनि सरकारमा जान हत्ते गर्ने पार्टी होइन। अहिलेकै अवस्थामा फेरि सरकारमा फर्कने कुनै सम्भावना छैन,” श्रेष्ठले भन्नुभयो।
प्रतिपक्षमा कुनकुन दल?

नेकपा एमालेका नेताहरूले अब उक्त दल प्रतिपक्षमा रहने बताइसकेका छन्।
नेकपा एमालेका नेता विष्णु पौडेलले सोमवार बीबीसीसँग भन्नुभया,”आज हामी स्वाभाविक रूपले प्रतिपक्षमा छौँ। सशक्त प्रतिपक्षको प्रभावकारी भूमिकामा हामी हुन्छौँ।”
एमालेसँगै राप्रपा पनि प्रतिपक्षमा रहने देखिएको छ। रास्वपाले यसबारे आफ्नो निर्णय लिइसकेको छैन।
प्रतिपक्षमै रहँदै आएको नेपाल मजदुर किसान पार्टी पनि अहिलेको सत्ता गठबन्धनमा सहभागी छैन।
माओवादी केन्द्रका नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनमा एक ठाउँमा भएका बाँकी आठ वटै राजनीतिक दललाई सरकारमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी सहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा देखिएका छन्।
माओवादी नेताहरूका अनुसार रेशम चौधरी रिहाइको अडान लिएको नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा जाने वा नजाने निश्चित छैन।
एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेससँगै सरकारमा सहभागी हुने सम्भावना रहेको नेताहरूको दाबी छ।(बीबीसी नेपाली सेवा)


















