Prakash Adhikari February 28, 2023

अजमान(यूएई), १६ फागुन । आईसीसी पुरुष यू १९ विश्वकप क्रिकेट एशिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको शानदार विजय हासिल गरेको छ।

खेलमा मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा विना कुनै विकेटको क्षति हासिल गरेको थियो।

खेलमा नेपालका ओपनर दिपक बोहोरा ३८ र अर्जुन कुमाल २१ रनमा नटआउट रहे। २९ बलको सामना गरेका दिपकले ८ चौका प्रहार गरे भने अर्जुनले २५ बलमा ३ चौका हाने।

त्यसअघि युएईको मलेक क्रिकेट ग्राउण्ड, अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ५० ओभरको निर्धारित खेल ३५.३ ओभरमा ७२ रन जोड्दा अलआउट भयो।

खेलमा मुहम्मद अक्रम अब्दुल मलेकले बनाएको २६ रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। मोहम्मद हैरिल हरिसन र मुहम्मद स्याहिर सामयलले समान १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल एक्लैले ४ विकेट लिए। आकाश चन्दले ३ विकेट लिए। खेलमा मिलन बोहोराले २ विकेट लिए भने सुवाष भण्डारीले १ विकेट लिए।

 

एशिया क्षेत्र छनोटमा अपराजित रहेको नेपाली टोलीले अन्तिम खेलमा बिहीबार युएईसँग खेल्नेछ।

युएईलाई हराउन सके नेपाल शीर्ष स्थानमा रहँदै अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्नेछ ।

Share Now

Leave a comment.